Wednesday 15 August 2012

हाल-चाल






यो भग्नतालाई
कसरी सम्भालौं?
ए धर्ती!
मलाई तेरो जुठेल्नो मै भए पनि
दुई थोपा आँशु खसाउन दे
त्यो रुग्नतालाई
त्यो वितृष्णालाई।

खण्डित मनले
चुर-चुर
जीवनको अभिप्राय
कसरी प्राप्त गरौँ?
ए आकाश!
मलाई तेरो फैलावटमा
प्वाँख फिँजाएर उड्न दे।

कन्चनजंगाको फेदमा
लिलिफुटे टाउकोहरू
जुगा झैँ घिनलाग्दा जीवहरू
सल्बलाई रहन्छ
यहाँ सभ्यताको शुरुवात कसरी गरौँ?
पृथ्वीको किनार जस्तै देखिने,
ए क्षितिज!
मलाई तेरो लालीमा पैँचो दे।




Tuesday 14 August 2012

बजारको रङ्गसित






मेरो सपनामा
मेरो विपनामा
पल-पल बितिरहेका
मेरा जीवनका अभिप्रायसित
संग्लग्न तिमी
तिम्रो सम्मोहनले छोएपछी
प्राप्तिका लिप्साले आकर्षित मस्तिष्क
तिम्रा जादुमय लावान्यले भावविह्वल छन् संसार

मेरो प्रेमका सौगातहरू
रक्ताम्ये छन् तिम्रा हत्केलामा
तिम्रो निष्ठुरताको पराकाष्टालाई
मेरा आँधीमय रातहरूले
मत्थर पार्ने छ
अनि तिम्रो कुरूपतालाई
चिरा-चिरा पारेर
म नयाँ प्रणयको
बीज छर्न चाहन्छु
म आदिम तर वैज्ञानिक संसार
आफ्नै हातले रङ्गाउन चाहन्छु।